Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिबान लडाकुहरू को हुन् ? यस्तो छ ऐतिहासिक पृष्ठभूमि


    सोमबार, साउन ३२ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी। अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ।

    दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ र सरकारलाई उनीहरूले विस्थापित गर्ने चिन्ता बढ्दै गएको छ।

    सन् २०१८ मा उक्त समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गर्‍यो र सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो।

    शान्तिसम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता जनायो।

    सम्झौतामार्फत् गरिएका अन्य प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल-कायदा अथवा अरू समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने रहेका छन्।

    तर त्यसयता तालिबान लडाकुहरूले अफगान सुरक्षा फौज र सर्वसाधारण नागरिकलाई तारो बनाउने क्रम जारी राखेका छन्।

    सत्तामा उदय
    पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू” भन्ने हुन्छ।

    अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

    मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

    तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो।

    तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो।

    सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

    त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे।

    उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ “विधर्मीहरूसँग लड्ने योद्धाहरू” तयार पार्ने संस्थापकमध्ये एक थिए।

    सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

    सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

    भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

    तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने – उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने – नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

    उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो।

    तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए। (बीबीसी नेपालीको सहयोगमा)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार