काठमाडौं । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–०६ को खम्बाचेनमा नापीको समयमा कसैको नाममा नभएको १५ सय रोपनी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गर्ने मुख्य भूमिका भएका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गृहमन्त्रालयको सचिव बनाएको छ ।
संरक्षण क्षेत्रको जग्गा दर्ता गर्न सचिव पाण्डेले ताप्लेजुङका मालपोत र नापी कार्यालयका प्रमुखलाई चर्काे दबाब दिइरहेका छन् । कसैको पनि हकभोग नरहेको सरकारी जग्गा तत्कालीन नापी गोश्वाराले नापनक्सा नगरी छाडेको थियो । कञ्चनजंघा संरक्षण क्षेत्रभित्रको कञ्चनजंघा रुटमा पर्ने उक्त बहुमूल्य जग्गामा केही समय अघि ३० जनाले अतिक्रमण गरी छाप्रा बनाएर बसेका छन् । ती छाप्रा बनाउनेहरुले उक्त जग्गा साविकदेखि नै आफ्नो भएको नक्कली दाबी विरोध गर्दै नापनक्सा छुटेको भनी दर्ता गर्न खोजेका छन् ।
उक्त जग्गा दर्ता गर्नका लागि भूमि व्यवस्था सचिव पाण्डेलाई भूमाफियाहरुले मोटो रकमको घुसको प्रलोभन देखाई नक्कली लगतको कागजात बनाएर लागिपरेका छन् । साविकको लगतमा जग्गाको क्षेत्रफल माटो मुरीमा हुने गर्दथ्यो । नक्कली लगतमा जग्गाको क्षेत्रफल रोपनी उल्लेख रहेको छ । लगत भनिएका कागजातमा अक्षरहरु पनि पुरानो ढाँचाको नभई हालसालै लेखिएको देखिन्छ । ढाँटेको कुरा काटे मिल्दैन भन्ने उक्ति माफियाहरुले साविकको लगत बनाउँदा छताछुल्ल भएको छ ।
कञ्चनजंघा सरंक्षण क्षेत्रभित्र रहेको सरकारी जग्गा यसअघि पनि छुट नापीको नाममा पटक पटक नापनक्सा गराउने प्रयास हुँदै आएको थियो । तत्कालीन नापी र मालपोतका कर्मचारीलाई प्रलोभन दिँदा पनि नमानेपछि माफियाहरुले भूमिव्यवस्था सचिवलाई नै प्रभावमा पारी जग्गा दर्ता गर्ने कसरत अगाडि बढाएका छन् ।
भूमिव्यवस्था सचिव पाण्डेलाई उक्त जग्गा दर्ता गर्न सहजीकरण गरेवापत उक्त जग्गा दर्ता गर्न लागेका पासाङ शेर्पाले हेलिकोप्टर चार्टर गरी सपत्नी पाथिभरा घुमाएको स्रोतको दावी छ । शेर्पा गएको चैतमा ओलीको एमालेमा प्रवेश गरी उक्त जग्गा दर्ता गर्न लागेका हुन् । ओलीले उक्त जग्गा दर्ता गरिदिने आश्वासन दिएर उनलाई एमालेमा ल्याएको खुलेको छ । संरक्षण क्षेत्रको सरकारी जग्गा दर्ता गरिदिने भनेर पासाङ शेर्पाले धेरैजनासँग रकम संकलन गरिसकेका छन् ।
सरकारी जग्गा छुट नापीका नाममा, व्यक्तिका नाममा दर्ता गराउन सचिव पाण्डेले नापी र मालपोत कार्यालयका प्रमुखलाई दबाब दिएर मात्र नपुगी वन तथा वातावरण मन्त्रालयको सहमति लिन आफैं धाउन थालेका छन् ।
कञ्चनजंघा संरक्षण क्षेत्रको जग्गा भूमाफियालाई दिन दबाब दिएको बारेमा सचिव पाण्डेले भने–‘उक्त जग्गा हिउँ परेका बेला नापनक्सा छुटेकाले दर्ता प्रक्रिया अगाडि बढाउन भनेको हुँ । संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वनको अनुमतिका लागि प्रक्रिया अगाडि बढेको छ । त्यहाँ गुम्बासमेत रहेकाले साविकमा बस्ती थियो भन्ने पुष्टी हुन्छ भन्ने तर्क गरेका छन् ।’ यद्यपि गुम्बा बस्ती नभएको ठाउँमा पनि निर्माण गर्ने प्रचलन छ ।
पूर्व भूमिव्यवस्था मन्त्री पद्माकुमारी अर्यालले रोजेर ल्याइएका सचिव पाण्डे ओली सरकारको बर्हिगमनपछि आफू नेविसंघको राजनीतिबाट आएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडमार्फत् गृहसचिवमा सरुवा भएका छन् ।