काठमाडौँ । अवकाश हुन पाँच महिना बाँकी हुँदा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राकृतिक स्र्रोत तथा वित्त आयोगबाट रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
सचिव बढुवा भएको ४ बर्ष ७ महिनापछि उनलाई शेरबहादुर देउवाको सरकारले मन्त्रालयको जिम्मेवारी दिएको हो । सचिवको ५ बर्षे पदावधिले २०७८ पुस १३ मा अवकाश हुने पौडेलले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाएका थिएनन् ।
शेरबहादुर देउवा सरकार गठन नभएको भए पौडेल संभवतः वित्त आयोगबाटै अवकाशमा जाने थिए । उनी यसअघि २०७७ माघ अन्तिममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका थिए । तर तत्कालीन भूमिब्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फेले टेकनारायण पाण्डेलाई सरुवा गरिएकोमा प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टी प्रकट गरेपछि सरुवा रद्द गरी बित्त आयोगमै यथावत राखिएको थियो । भूमिब्यवस्था मन्त्रालयमा सरुवा भइसकेपछि उनलाई धेरैले उनलाई बधाइ दिएका थिए, तर रमाना नै नबुझी उनको सरुवा संशोधन हुन पुगेको थियो ।
पौडेल सचिव बढुवा हुनासाथ तत्कालीन मध्यपश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय प्रशासकमा पदस्थापन भए । मध्यपश्चिमान्चलबाट पश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भयो । पोखराबाट उनी प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको अस्थायी प्रकृतिको निर्वाचन क्षेत्र निर्धारण आयोगमा सरुवा भए । निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्वाचन आयोगमा सरुवा भएका उनी त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भए । खरिद अनुगमन कार्यालयबाट उनको सरुवा २०७६ भदौमा बित्त आयोगमा भएको थियो ।
बित्त आयोगबाट २ बर्षपछि उनी रक्षा मन्त्रालयमा लगिएका छन् । उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयमध्ये एक रोज्न अवसर दिइएको थियो । उनले रक्षा नै रोजेका छन् । ५५ महिनासम्म मन्त्रालयको जिम्मेवारी नदिंदा पनि उनले यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मी र हालका शंकरदास बैरागीसँग कुनै गुनासो गर्न नजानेमा उनी पर्दछन् । विशिष्ट श्रेणीको कर्मचारी सबैको सेवा सुविधा त एउटै हो, तर नेपालमा भने मन्त्रालयको जिम्मेवारी नपाउने सचिवहरुले आफूलाई पेलिएको महसुस गर्ने गर्दछन् ।