काठमाडौं । नेपाल सरकारका सचिवहरुको पहिलो रोजाइ गृहमन्त्रालय हुने गरेको छ । प्रशासन समूहका सचिवहरु सबै गृहमन्त्रालय नै जाने चाहना राख्दछन् । ७७ जिल्लाका सीडीओ खटनपटनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा बढुवामा मुख्य भूमिका हुने गृहमा सरुवाका लागि शेरबहादुर देउवा सरकार गठन भएदेखि नै सचिवहरुको दौडधूप चलिरहेको छ । गृहमन्त्री र सचिवलाई सुराकी खर्चका नाममा पनि उत्तिकै अधिकार छ ।
सरकार परिवर्तन भएपछि गृहमन्त्रालयका सचिव फेरबदल गर्ने परम्परा नै विकास भएको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने १८ महिनादेखि गृहमन्त्रालयमा छन् । उनलाई गृहमा सरुवा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशले पदमुक्त भइसकेकाले गृहमा अर्को सचिव ल्याउने चर्चा भइरहेको छ ।
न्यौपानेको सरुवाको चर्चासँगै गृहमन्त्रालयको सचिवका लागि दौडधूप सुरु भएको छ । गृहसचिवको दाबी गर्नेहरुमा प्रशासन समूहका प्रायः सबै सचिव छन् । बढुवा भएको एक महिनामात्र भएका र पदस्थापना नै नभएका कृष्णहरि पुस्कर कर्णदेखि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीले पनि गृहको दाबी गरेका छन् । भूमिब्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे, श्रम तथा रोजगार मन्त्रालयका सूर्यप्रसाद गौतमदेखि प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीसम्म पनि गृहतिरै आँखा लगाउनेमा पर्दछन् ।
गृहमा सरुवा हुने दौडमा वरिष्ठ सचिवहरु यादव कोइराला, लक्ष्मण अर्याल, टेकनारायण पाण्डे, बेगेन्द्रराज शर्मा पौडेल, तोयम राया, सुरेश अधिकारी, दिनेश भट्टराई केवल भण्डारी, एकनारायण अर्यालहरु पछि छन् ।
गृहमन्त्रालयको सचिवको दौडमा रहेकामध्ये बाणिज्य सचिव दिनेश भट्टराईको संभावना बढी देखिएको छ । भट्टराईलाई गृहसचिव बनाउनका लागि कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कन्भिन्स गराइसकेको स्रोतले बताएको छ । भट्टराईको पुख्र्यौली घर भोजपुर हो भने पछि तराईमा सुनसरी हो । ज्ञानेन्द्र कार्कीको पनि पुख्र्यौली घर भोजपुर भए पनि सुनसरीबाट चुनाव जितेका हुन् । कार्की प्रधानमन्त्री देउवाका अति निकट नेता हुन् । पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की देउवाका विश्वासिला सहयोगी भएकाले पनि बाणिज्य सचिव भट्टराईको गृह मन्त्रालय यात्रा सहज भएको चर्चा प्रशासनिक क्षेत्रमा छ ।
बाणिज्य सचिव भट्टराई गृह सचिव हुने चर्चामा थिएनन् । तर गृहमा उनकै पल्लाभारी देखिएको छ । संभवतः आजै बस्ने मन्त्रिपरिषद बैठकले गृहसचिवमा भट्टराईलाई ल्याउने संभावना छ ।
गृहमन्त्री बालकृष्ण खाँड भूमिब्यवस्था सचिव टेकनारायण पाण्डेलाई गृहमा ल्याउने पक्षमा देखिएका छन् । तर उनी गृहका क्याडर होइनन् । उनीमाथि गिरीबन्धु टी स्टेटको ३५० बिघा जग्गाको हदबन्दी फुकुवामा चलखेल गरेकोदेखि ताप्लेजुङको फक्तालुङ, खम्बाचेनस्थित कन्चनजंघा रुटमा पर्ने १५ सय रोपनी जग्गा अतिक्रमणमा संलग्न रहेको आरोप छ ।
पूर्वभूमिब्यवस्था मन्त्री पदमा अर्यालसँग मिलेर सचिव पाण्डेले गिरीबन्धु टी स्टेटको जग्गा हदबन्दी फुकुवा गर्ने ऐनको मस्यौदा तयार गर्नेदेखि उक्त जग्गा फुकुवा गर्न सबै प्रक्रिया पूरा गरेबापत करोडौं घुस लिएको आरोप छ ।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा पछिल्लो समयमा केपी ओलीको निकट भएका पासाङ शेर्पा र नेपाल ट्रष्टमा एमाले महासचिव इश्वर पोखरेलले नेपाल ट्रष्टको सदस्य बनाएकी याङ्जुम शेर्पाको लगानीमा हेलिकोप्टर चार्टर गरी सचिव पाण्डे २ पटक सपत्नी पाथीभरा घुम्न गएका थिए । पासाङ शेर्पाले कन्चनजंघाको उक्त जग्गा दर्ता गरिदिने भनी ठूलै घुस संकलन गरेको स्रोतले बताएको छ ।