परीक्षाफल ढिलो प्रकाशित भए पनि केही फरक पर्दैन भन्दै बैठकमा बोर्ड सदस्यहरूले यस विषयमा तत्काल छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । सबै सदस्यले मतैक्यता जाहेर गर्दै परीक्षाफल प्रकाशित गर्न हतारिन नहुने धारणा राखेका थिए । लगत्तै बोर्डका अधिकारीले यो विषयमा एक साता समय माग गर्दै ‘ए’ र ‘ए प्लस’ अंक दिने विद्यालय र विद्यालयका प्रधानाअध्यापकको विषयमा समेत छानबिन गर्ने जनाएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षका परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० अंकभन्दा माथि दिनुपरेमा सोको कारण कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था गरेको थियो । तर, सो व्यवस्थाको उल्लंघन गर्दै कारण नखुलाई ८० भन्दा बढी नम्बर दिएको पाइएको छ ।
कार्यविधिविपरीत मनोमानी ढंगबाट आफ्ना विद्यार्थीको परीक्षाफलमा बढी अंक प्रविष्ट गरेपछि बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने जनाएको हो । बोर्डको आन्तरिक बैठकका बारेमा जानकारी गराउँदै एक अधिकारीले भने– ‘झन्डै ७२ हजार विद्यार्थीको सबै विषयमा ‘ए’ र ‘ए प्लस’ आएको भेटियो । काठमाडौँका करिब १ हजार २ सय विद्यार्थीले ‘ए प्लस’ ल्याएको देखियो ।’
बोर्डले जिल्ला शिक्षा समन्वय इकाइलाई बढी नम्बर दिएका कारण खोजी गर्न एक साता समय दिने भएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सबै विवरण तयार गरी बढीमा ४ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।
विशेष गरी निजी र नाम चलेका सरकारी विद्यालयले आफ्नो रेकर्ड राम्रो देखाउन ८० भन्दा बढी अंक दिएको फेला परेको छ । यो वर्ष करिब ३ लाख ८५ हजारले मात्र आवेदन फाराम भरेको पाइएको छ । नेपाल समाचारपत्रबाट