Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुच्चे नक्सा नराखी प्रकाशन गरिएका पुस्तक जफत गरिनेछः शिक्षामन्त्री 


    बुधबार, जेष्ठ २६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।
     पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

     उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र  बितरकलाई तत्काल स्पष्टीकरण सोध्ने,  पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

     प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । तपाईहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्–मन्त्री श्रेष्ठको निर्देशन थियो ।

      मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिएका छन् । उनले भने–यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं । उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।

     अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।
     उनले भने–पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौं, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौ–उनको भनाइ थियो ।

     अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखि प्रकाशन  गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 
     बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृति दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार