काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले आगामी असार १ गतेबाट जोर–विजोरको तयारी थालेको छ । हालसम्मको निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लुजडाउनको तयारी थालेको हो । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने अधिकारीहरुको भनाइ छ ।
गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा पनि थालेको छ । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका सीडीओसँग छलफल गरेका हुन् ।
काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेको दोहोर्याउँदै त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । यद्यपि, त्यसका लागि स्वास्थ्य मन्त्रालयको पनि राय लिने तयारी भइरहेको पनि उनको भनाइ छ ।
भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराई पनि संक्रमण र मृत्यु दर घटेको आफूहरुको निष्कर्ष रहेको बताउँदै निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने बताउँछन् ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणका लागि भन्दै १६ वैशाखदेखि निषेधाज्ञा लगाएका थिए गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी गरेको छ ।