काठमाडौँ। नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए ।
त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् ।
त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।
दोस्रो बुँदाअन्तर्गत चिकित्सा सामग्रीलगायत चिकित्सा उपकरणहरू अक्सिजन जेनेरेटर, अक्सिजन कन्सन्ट्रेटर, थेरापिउटिक ड्रग्सलगायत पनि उपलब्ध गराउन भनेका हुन् ।
विश्वमै उच्च कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा मानवीय सङ्कट उत्पन्न भएको दर्शाउँदै सांसदहरूले यस्तो बेला बेलायती सरकारले नेपाल सरकारको आग्रहको सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । यस्तो कठिन समयमा पनि बेलायतले आफ्नो मित्रराष्ट्रलाई सहयोग गर्न धेरै ढिला गरेको भन्दै पत्रमा असन्तुष्टि समेत प्रकट गरिएको छ ।