एजेन्सी । फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ।
सोमबार राति कुवेतको राजधानीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।
जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै, याजन अल अरबको नाममा एक गोल रह्यो ।
नेपाल खेलको २३ मिनेटमा जोर्डनको पेनाल्टी गोलमार्फत पछाडि परेको थियो भने त्यसपछि दोस्रो हाफको पाँचौं मिनेटमा जोर्डनले फ्रिकिकमार्फत् गोल गर्दै खेल २–० मा अग्रता लिएको थियो । त्यसपछि जोर्डनले खेलको ६७ औं मिेनटमा अर्को गोल गर्दै गोल अग्रता तेब्बर बनायो ।
त्यसपछि खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलमा नेपालले ३–० को पराजय भोगेको हो । यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो ।
जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।
नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।
नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।