काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति पार्टी एकताका लागि गरेको आह्वान ‘वादशाह फरमान’ जस्तै भएको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले टिप्पणी गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि गरेको आह्वानका शब्दहरुमा जालीझेली, षडयन्त्रको गन्ध आइरहेको उपाध्यक्ष पौडेलले जनाएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष पौडेलले लेखेका छन्– ‘बिज्ञप्ति पढ्दा एकताको इमानदार प्रयास जस्तो मलाई लागिरहेको छैन । शब्दहरु फेरि पनि जालीझेली, षड्यन्त्रको गन्ध आउने नै देखिन्छन् । किनकि एकताको आह्वानमा स्वयं नै शर्तै शर्तहरु तेर्सिएको छ । एकता नरम, लचिलो र हार्दिकता बिकास गर्ने हुनुपर्छ ।
एकता आह्वान कुनै बादशाह फरमान हो र ? बाँकी दलबल हो र ? आदेशमा लुरूक्क पर्ने । हामी प्रष्ट छौं, नेकपा (एमाले) राजनीतिक संगठन हो । यसको परिचालन नीति, विधि, सिद्धान्त, कार्यक्रम, विधान र पद्धतिद्वारा हुन्छ न कि कुनै फरमानबाट । त्यसैले फेरि पनि भन्छु एकता आव्हानमा षड्यन्त्रको गन्ध छ ।’
एमालेभित्रको विवाद उत्कर्षमा पुगेर फुट नजिक पुगेपछि अध्यक्ष ओलीले आइतबार एक वक्तव्य जारी गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन् ।