काठमाडौँ । प्रधानसेनाापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समस्या सुल्झन्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन् ।
आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताए । ‘हामी अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ,’ उनले अहिलेको घटनाक्रमबाट सेना जानकार रहेको पनि पत्रकार भेटघाटका क्रममा बताए ।
उनले सेनालाई कमजोर नसम्झन र विगतमा सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि सबैसँग अनुरोध गरेका छन् ।
उनले सेना हिरोइजम देखाउने ठाउँ नभएको र आफूले पनि ठाउँ नपाएर हिरोइजम नदेखाएको नभई हिरोइजम युद्धभूमिमामात्र ठीक हुने बताए। ‘मैले हिरोइजम देखाउने ठाउँ नभएर हिरोइजम नदेखाएको होइन,’ उनले भने ।
‘सीमामा जाने हाम्रो अधिकार हुँदैन। निश्चित अवस्थामा मात्र सेना सीमामा जान्छ। तर, त्यहाँका गतिविधिहरुलाई नियालिरहेका छौँ,’ उनले भने ।
उनले आफूले कार्यकालको सुरुमा सञ्चालन गरेको ‘प्रधानसेनापतिसँग सेना’ कार्यक्रममा १०० वटासम्म प्रश्न आउने र पछिल्लो समयमा ६ वटा प्रश्नमा सीमित भएको बताए ।