काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध सूचना जारी गरेको छ ।
२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुपर्ने भएकोले सो गर्नु नपर्ने भए आफ्नो प्रमाण पेश गर्नको लागि सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।
कार्यालयले निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भए इमेलमार्फत समेत प्रमाण पेश गर्न सकिने जनाएको छ ।
मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न समय दिएको छ । सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।
