काठमाडौं । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् । राणाले शुक्रबार आफूसहित बरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की मिरा खड्का, इश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई राखी संवैधानिक इजलास गठन गरेका छन् ।
यसअघि राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको बारेमा विवाद भएपछि बरिष्ठताका आधारमा शुक्रबार राणाले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटनका बिरुद्ध परेका ३० वटा रिटमाथि सुनुवाइका लागि यो इजलास गठन गरिएको हो । बरिष्ठताका आधारमा तेस्रो बरियताका हरिकृष्ण कार्कीले बस्न नमानेको र पाँचौं बरियताका न्यायाधीश विश्वम्भर श्रेष्ठ विरामी भएकाले उनीहरुको ठाउँमा छैटौं बरियताका खतिवडा र सातौं बरियताका भट्टराईलाई इजलासमा राखिएको छ ।
यसअघि गठित इजलासमा राखिएका बमकुमार श्रेष्ठले नेकपाको एकता माग्दै नमागेको अवस्थामा खारेज गरेको र केसीले पुनरवलोकनमा निस्सा नदिएकोमा विवाद भएपछि उनीहरुलाई इजलासमा राख्नु नहुने पक्षमा निवेदक पक्षका अधिवक्ताहरुले बहस गरेका थिए । तर बरिष्ठ अधिवक्ताहरुको आग्रहलाई पनि अस्वीकार गर्दै केसी र श्रेष्ठले इजलास छाड्न नमानेपछि बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने घोषणा गरेका थिए ।
कार्की र भट्टराईले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश राणाले बरिष्ठ न्यायाधीश राखी इजलास गठन गर्न बाध्य हुनुपरेको छ ।
गत जेठ १८ गते बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए, त्यही अनुरुप आज उनले गठन गरेका छन् ।
यसअघि गत जेठ १४ गते गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशहरुमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएको थियो । जसमा नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राख्दा निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका थिए ।
यसै विषयमा ध्यानाकर्षण गराउन गत जेठ १८ गते सर्वोेच्च बार एसोसिएसनका अध्यक्षको भेटमा प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा न्यायाधीश चयन गरेर संवैधानिक इजलास गठन गर्ने आश्वासन दिएका थिए ।