एजेन्सी। बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले गरेको आक्रमणमा करिब एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले बताएका छन्।
शुक्रवार राति सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरिएको सरकारी भनाइलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।
हालसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन। तर पछिल्ला दिनहरूमा त्यहाँ इस्लामी समूहहरूको हमला सामान्य हुँदै गएका छन्।
खासगरी नीजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटनाहरू सामान्य भइरहेका छन्।
बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा सङ्कटको सामना गरिरहेको छ।
उक्त क्षेत्रमा शस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन्।
फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन्।
तर, हालसालै भएको ‘कू’ का कारण फ्रान्सले यसै हप्ता मालीलाई गरिरहेको सहयोग भने रोकेको छ। (स्रोत :बीबीसी)