काठमाडौँ। जोय फाउन्डेसन नेपालले विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा अक्सिजनको अभाव खड्किएको बेला विभिन्न जिल्लाका सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटरको सहयोग सुरु गरेको छ।
मिलारेपा मेडिटेसन सेन्टर साँखुले ताइवान एलजेएम च्याटिरेबल फाउन्डेसन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीमार्फत एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
शनिबार आयोजित एक कार्यक्रममा मिलारेपाले सो अक्सिजन कन्सन्ट्रेट हस्तान्तरण गरेको जोय फाउन्डेसन नेपालका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार सहयोग प्राप्त कन्सन्ट्रेटर शनिबारदेखि नै देशका दुर्गम क्षेत्रका अस्पताललाई प्रदान गरिने छ।
उनले सहयोगप्रति मिलारेप मेडिटेसन सेन्टरलाई धन्यवाद दिँदै भने, ‘कोभिड–१९ का बिरामीलाई हुने श्वासप्रश्वाससम्बन्धि समस्यासँग लड्न अक्सिजन अत्यावश्यक भएको तर बिरामीले पर्याप्त नपाउँदा समस्या भएको अवस्थामा यो सहयोगले ठूलो योगदान पुग्ने छ ।
सहयोग प्राप्त कन्सन्ट्रेटर नुवाकोट, स्याङजा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की र बर्दिया लगायत जिल्लामा वितरण गर्न लागिए अध्यक्ष श्रेष्ठले बताए।