Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुखुरापालन व्यवसायमा निषेधाज्ञाको असर


    शनिबार, जेष्ठ २२ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • लहान  । कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् ।

    निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् ।

    कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताउनुभयो । दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उहाँले दुखेसो पोख्नुभयो । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ” सकुर मियाँले भन्नुभयो,“तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।” चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उहाँ निराश देखिनुहुन्छ ।

    घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उहाँले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उहाँको भनाइ छ । “उत्साहका साथ कुखुरापालन शुरु गरेकामा लामो निषेधज्ञाले सबै चल्ला बर्बाद भएको छ”, अर्का कुखुरापालक किसान सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीका सञ्जीव साहले भन्नुभयो, “अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।” कुखुरा फर्ममा हाल १५० वटा कुखुरा रहेपनि तिनलाई खुवाउने दाना नहुँदा एकातिर पालन गर्न कठिनाइ भइरहेको छ भने अर्काेतर्फ खानयोग्य भइसकेको कुखुरा पनि बिक्री गर्न पनि सकिरहेको छैन् उहाँको दुखेसो छ ।

    सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहनस्वरुप राहतको व्यवस्थापन मिलाई दिनुपर्ने उहाँको आग्रह छ । “एक त कुखुराहरु दाना अभावले तौल बढिरहेको छैन भने अर्कोतर्फ विक्रीका लागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ” सोही ठाउँका अर्का कुखुरापालक किसान मो. इद्रिसले भन्नुभयो,“कोरोना भाइरसको त्रासका कारण कुखुरा खाने उपभोक्ताहरु घटेकाले तरकारीकै भाउमा विक्री गर्नुपर्ने अवस्था आइपुगेको छ ।” ऋण काट्ेर कुखुरा फर्म सञ्चालन गरेको तर, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निषेधज्ञाका कारण धरासायी बन्न पुगेको उहाँले बताउनुभयो ।

    यस्तो समस्या केबल उहाँहरुको मात्रै होइन्, सिरहामा कुखुरापालन गर्दै आएका अधिकांश कुखुरापालक किसानहरुको समस्या हो । सिरहामा करीब ५०० भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्बन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुले समेत माग गरेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार