काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालका निकट ब्यापारी सुबुप्रताप केसी अमेरिकामा ठगीकाण्डमा परेका छन् । अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका केसीले जालसाजी गरेको आरोप लागेको छ । उनले गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ ।
उनले २ लाख ३० हजार अमेरिकी डलर भन्दा बढी रकम सजायस्वरुप फिर्ता गर्नुपरेको संघीय अभियोजनकर्ताद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिङ युएस एटर्नी राज पारेखले जारी गरेको विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स ग्रुप, (इन्क) केसी इन्कले पे चेक प्रोटेक्सन प्रोग्राम(पीपीपी) अन्तर्गत धेरै लोन लिएर जालसाजी गरेकोमा उक्त रकम अमेरिकी सरकारलाई फिर्ता गर्नुपरेको उल्लेख छ ।
सुबुु पी केसी भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर व्यापारमा संलग्न थिए । उनले कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई अमेरिकी सरकारले सुविधास्वरुप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाझी गरेर बढी रकम लिएको आरोप लागेको छ ।

सुुबु केसीको ठगीबारे अमेरिकी अनलाइन प्याच डटकमले लेखेको समाचार
केसीले सञ्चालनमै नरहेको केसी इन्भेष्टमेन्ट ग्रप र हालको केसी इन्क दुबैका नाममा पीपीपी अन्तर्गतको सुविधा लिएको तर दुबैको रकम एउटै कम्पनी केसी इन्कको खातामा जम्मा भएको देखिएको आधारमा उनको अनुसन्धान भएको थियो । अनुसन्धानका क्रममा जालसाजी गरेको प्रमाणित भएपछि उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरीमाना गर्ने निर्णय जुन २, २०२१ मा गरिएको थियो । उनलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्नुपर्ने आदेश दिइएको छ ।
आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि उनलाई आपराधिक मुद्दा नचलाई सिभिल फ्रडका रुपमा रकम सजाय गरेर उन्मुक्ति दिइएको उल्लेख छ । उनले अमेरिकामा रहेका नेपाली ब्यापारीहरुको पैसा अवैध हुन्डीमार्फत् दुबई र नेपालमा भित्र्याएर हाइड्रोपावर, होटल र हाउजिङमा लगानी गर्दैआएका छन् । नेपालबाट पनि करछली गरेको मुनाफा हुन्डीमार्फत् अमेरिका पठाउने गरेका थिए । अमेरिकी सरकारलाई समेत ठग्न नछाडेका केसी कस्ता पात्र हुन् भन्ने ठगीमा परेपछि खुलेको छ ।
को हुन् सुबु केसी ?
सुबु केसी अमेरिकामा बसोबास गर्दैआएका थिए । उनी आफूलाई ब्यापारीका रुपमा चिनाउँथे । सर्वेन्द्र खनाल आइजीपी भएपछि केसी नेपालमा आएका हुन् । नेपालमा उनले ग्रान्डी अस्पतालमा लगानी गरेका थिए । ग्रान्डीमा दीपक कुँवरसँग विवाद भएपछि उनले तत्कालीन आइजीपी खनाललाई प्रयोग गरी लगानीभन्दा बढी रकम असुलेका थिए । केसीलाई नेपालमा ल्याउने काम खनालले गरेका थिए । खनालले आइजीपी आफ्नो अदृश्य आम्दानी समेत उनै केसीमार्फत् लगानी गरेको प्रहरीमा चर्चा हुने गरेको छ । केसीले खनाल आइजीपी हुनासाथ बसन्धुरामा बसन्धुरा बैंक्वेट खोले । मनाङ होटलका सचालक भुजुङ गुरुङ सुनकाण्डमा पक्राउ परेपछि उक्त होटल पनि कौडीको मूल्यमा लिएको स्रोत बताउँछ ।

खनालसमेतको लगानीमा केसीले नेपालमा हाइड्रोपावरहरुमा पनि लगानी गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा कतिपयले केसीलाई छायाँ आइजीपीका रुपमा लिन्थे । उनले खनालको सबै आर्थिक कारोबार सम्हालेका थिए । प्रहरीका ठेक्कामा मात्र होइन सरुवामा समेत उनको हालिमुहाली चल्ने गरेको थियो ।
खनालले केसीमार्फत विभिन्न ठाउँमा लगानी गरेका थिए । खनालले अमेरिकामा जाने आउने क्रममा केसीलाई सँगै लाने गरेका थिए । आइजीपीको रुपमा इन्टरपोलको बैठकमा भाग लिन जाँदा समेत खनालले केसीलाई सँगै अमेरिका लिएर गएका थिए । तर तिनै केसी खनाललाई धोका दिंदै उनी अवकाश हुने बेला केसी अमेरिका गएका थिए । आफ्नो लगानीसमेत हिसाबकिताव नगरी अमेरिका पलायन भएपछि अहिले केसीसँग खनालको राम्रो बोलचालन समेत छैन । खनालको पैसा दिन केसीले अस्वीकार गरेकाले उनीहरुबीच बोलचाल बन्द भएको स्रोत बताउँछ ।