Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाँजा र हतियार कारोबारीलाई प्रहरीको संरक्षण !


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • बारा । गाँजा र साना हतियारका कारोबारीलाई प्रहरीकै हाकिमहरुले संरक्षण गर्दैआएका छन् । पर्सामा गाँजा नियन्त्रणपछि लागूऔषधका कारोबारीहरु बारातिर केन्द्रित भएका छन् । बारामा कुनै बेला महेन्द्र पोखरेल एसपी हुँदा ऊखुखेतीको बीचमा गाँजाखेती लगाउन छुट दिएर लाभ लिने गरेको भनी बदनाम भएका थिए । बारामा अहिले पनि गाँजाका कारोबारीहरुलाई प्रहरीको संरक्षण रहिआएको छ ।

    बाराको सदरमुकाम कलैयासँगै जोडिएको महागढीमाई नगरपालिका १० गंजभवानीपुरका अजय जैसवाल र जयकिसन यादव मिली गाँजाको तस्करी र साना हतियार बिक्रीको काम गर्नेमध्येका हुन् । उनीहरुले बारा प्रहरी र प्रदेशका घुमुवा प्रहरीको संरक्षणमा गाँजा र हतियारको कारोबार गर्दैआएको आरोप छ । गाँजा पनि बालुवा बोक्ने ट्याक्टरमा हालेर ओसार पसार गर्ने गरेका छन्् ।

    चुरेका बकैया लगायतका खोलाको बालुवा लिन ट्याक्टर लिएर जाने र मकवानपुर, चितवनबाट आउने गाँजा बालुवामा छुपाई कलैया लगायतका बजारमा लगी बिक्री गर्ने धन्दा जैसवाल र यादवले गर्दैआएका छन् । गाँजा कारोबारको कनेक्सन प्रदेश नम्बर २ बाट खटिएका घुमुवाहरुसँग पनि रहेको स्रोत बताउँछ ।

    प्रदेशका प्रहरीसँग कनेक्सन भएकाले उनीहरुले जिल्लाका रैथाने इन्स्पेक्टर रुद्र कँडेलसँग पनि लाइन मिलाएका छन् । कँडेलमार्फत् बारामा कार्यरत डीएसपी गौतम मिश्रसँग पनि कनेक्सन बनाएको भन्दै कारोबार गर्दैआएका छन् । बाराका एसपी दीपेन्द्र शाहीलाई भने गाँजा कारोबारीहरुसँगको कनेक्सनबारे थाहा नभएकाले उनीहरुको कारोबार निर्धक्क चल्दैआएको छ । डीएसपी मिश्र बारामा कार्यरत रहेको २ बर्ष बितिसकेको छ । कँडेल त सई हुँदादेखि नै पर्सा र बारामा कार्यरत छन् । 

    यसैबीच, गाँजा र हतियार कारोबारको हिसाब बीचमा गडबड भएपछि अजय जैसवाल पक्राउ परे । उनी ८ महिनादेखि जेलमा छन् । अजय पक्राउ परे पनि उनका ब्यापारिक पार्टनर जयकिसन यादवलाई भने प्रहरीले अझै पनि पक्राउ नगरी संरक्षण गरेको छ । जैसवाल पक्राउ परे पनि उनका छोरा जयकिसन मिलेर निरन्तर गाँजा र घरेलु हतियार बिक्रीको कारोबार गरि नै रहेका छन् । इन्स्पेक्टर रुद्र कँडेलमार्फत् प्रहरीसँग लाइन मिलाएर उनीहरुको कारोबार चल्दैआएको छ । 

    यसरी लागूऔषधको गिरोहका जैसवाललाई पक्राउ गर्ने र उनीसँगै कारोबार गर्ने यादवलाई संरक्षण गरी प्रहरीकै हाकिमले लाभ लिने गरेकोबारेमा बाराका एसपी दीपेन्द्र शाहीसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । डीएसपी गौतम मिश्रले भने– लागूऔषध कारोबारीलाई संरक्षण गर्ने जस्तो  गैरब्यवसायिक काम मबाट हुँदैन । उनले तपाईलाई मबाट यस्तो हुन्छ जस्तो लाग्छ भन्दै प्रतिप्रश्न गरे ।  

    बारामा एसपी शाहीको सोझोपनको फाइदा उठाउँदै इन्स्पेक्टर कँडेल र डीएसपी मिश्रले बकैया, पसाहा, दुधौरा र बालगंगा नदीमा स्काभेटर प्रयोग गरी दोहन गरी बालुवा, ढुंगा उत्खनन् गर्न खुल्ला छुट दिएका छन् । मापदण्ड बिपरीत नदी दोहन गर्दा पनि प्रहरी मुकदर्शक बनिरहेको छ । खोलाको दोहनबारे डीएसपी गौतमको भनाइ छ, खोला दोहन रोक्ने र नियमन गर्ने स्थानीय निकाय, जिल्ला समन्वय समिति जस्ता निकाय हुन् । सबै ठाउँमा प्रहरीले हेर्न सम्भव नहुन सक्छ, प्रहरीले स्काभेटर प्रयोग गरेको ठाउँमा रोकेको छ, रोक्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार