Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमा अर्को ओम्नी काण्डः एक लाख सेट गुणस्तरहीन पीपीई खरिद, स्वास्थ्यकर्मीको ज्यान जोखिममा


    बिहिबार, जेष्ठ २० २०७८
    835
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर संक्रमितको उपचारमा संलग्नस्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा हुन्छन् । ७७ वटै जिल्लामा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीका लागि सरकारले सुरक्षित रहेर कोरोना संक्रमितको उपचार गर्न सकून् भनेर पीपीई, मास्क, पन्जा जस्ता आवश्यक सामग्री दिने गरेको छ । महामारीमा खटेका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले गुणस्तरहीन स्वास्थ्य सामग्री प्रयोग गर्न दिंदा कोरोना झन् फैलिने खतरा हुन्छ । तर स्वास्थ्य सेवा विभागले त्यस्तै स्वास्थ्य सामग्री खरिद गरेको छ ।

     विभागले हालै एक लाख पिस डिस्पोजेबल पीपीई खरिद गरेको छ । लुम्बिनी हेल्थेकेयरका पोष्टराज ज्ञवालीले किराना पसलमा सामान प्याक गर्ने झोलामा प्रयोग हुने जस्तो कपडाको पीपीई स्वास्थ्य सेवा विभागलाई बुझाएको  उजुरी परेको छ । ज्ञवालीले विभागलाई बुझाएको १ लाख पिस पीपीई प्रयोग गर्न दिने हो भने स्वास्थ्यकर्मीहरु सुरक्षित होइन, झन् बढी संक्रमित हुने सूचना विभागलाई प्राप्त भएपछि गुणस्तर परीक्षणपछि बितरण गरिने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले उक्त पीपीई गुणस्तर परीक्षणविना बितरण गर्न रोकेका छन् ।

    ppe spake.jpg

    विभागको स्पेसिफिकेसन । प्रष्टरुपमा AAMI  PB70 level 4 गुणस्तरको हुनुपर्ने ब्यवस्था छ 

    लुम्बिनी हेल्थकेयरले बुझाएको पीपीई स्वास्थ्य सेवा विभागको स्पेसिफिकेसन अनुसार पनि नभएको स्रोत बताउँछ । संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीका लागि डिस्पोजेबल पीपीई AAMI  PB70 level 4 गुणस्तरको हुनुपर्ने ब्यवस्था छ । तर लुम्बिनी हेल्थ केयरले बुझाएको पीपीई लेभल एकको गुणस्तर अनुसारको समेत नभएकाले खरिदमा संलग्नहरु कारबाहीको दायरामा तानिने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनी र उनले आपूर्ति शाखाका खटाएका उपसचिव उपेन्द्र ढुंगाना यस्तो गुणस्तरहीन पीपीई खरिदका डिजाइनर भएको स्रोत बताउँछ । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहलाई पनि ढुंगानाले गुमराहमा पारी गुणस्तरहीन पीपीई खरिद गरेको आरोप छ ।

     स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहले डिस्पोजेबल पीपीई १ लाख पिस खरिद गरिएको स्वीकार गर्दै भने–‘पीपीईको गुणस्तरको बारेमा टेष्ट गर्नुपर्छ । पीपीईको बारेमा औपचारिक रुपमा होइन, अनौपचारिक तबरबाट गुनासो आएपछि गुणस्तर परीक्षणका लागि पठाएका छौं । गुणस्तर रिपोर्ट आएपछि गुणस्तरीय भएमा मात्र स्वास्थ्यकर्मीलाई पठाउनेछौं ।’

    गुणस्तर परीक्षण गर्न कहाँ पठाउनुभएको हो भन्ने जिज्ञासामा उनले भने–‘हाम्रा गुणस्तर टेष्ट गर्ने निकाय भारतमा पनि छन्, २–३ ठाउँमा छन् । गुणस्तर परीक्षण गर्न पठाइसकेका छौं ।’ 

    टेष्ट रिपोर्ट कहिलेसम्म आउँछ त भन्ने प्रश्नको जवाफमा उनले भने–‘म घरमा छु, विस्तृत विवरण बुझ्न आपूर्तिका प्रमुख डा. भीमसिंह टिंकरीसँग सम्पर्क गर्नुुस् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार