काठमाडौं । कोरोनाको महामारीले नेपालका ग्रामीण क्षेत्र पनि अछुतो छैनन् । गाउँ गाउँमा महामारी फैलिएको छ । सहरमा बिरामी हुनेले त अस्पतालमा आइसियु पाउने संभावना हुन्छ । तर गाउँमा कोरोना संक्रमण फैलिएपछि अक्सिजन कम भएर निमोनियाले ज्यानै लिने खतरा छ । कोरोना महामारीबाट बृद्धबृद्धा र बालबालिकालाई जोगाउनका लागि युवाहरु जाग्नैपर्ने बेला आएको छ ।
यसैक्रममा कोरोना महामारीमा पनि केही युवाहरु भने स्थानीय बासिन्दा बचाउन स्वास्थ्य सामग्री र हेल्थ प्रोटोकल सम्झाउँदै पुग्ने गरेका छन् । कतिपय गाउँमा युवाहरुले कोरोना महामारीमा राहत र स्वास्थ्य सामग्री लगेर कोरोना संक्रमितका घर घरमा गएर दिने काम पनि गरेका छन् ।
बाग्लुङको ढोरपाटनका स्थायी बासिन्दा तथा तरुण दल बाग्लुङका नेता देवेन्द्र घर्ती मगर तिनै सक्रियमध्येका एक युवा हुन् । नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष घर्ती मगरको नेतृत्वमा ढोरपाटन नगरपालिका–६ का विभिन्न गाउँमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेसका युवानेता मगरले सोमबार गादीखोला, पुरानोगाउँ, कुदुम, भण्डारी गाउँ, मातेगाउँ, लखनडारा, पानीपोखरा र दाङ्चुङ्गका करिव ३ सय घरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
उनले कोरोना संक्रमणबाट स्थानीयलाई जनचेतना जगाउने र मास्क, सेनिटाइजर, डिटोल साबुन र औषधिहरू बितरण गरिएको बताए । उनले सवारी चालकलाई पीपीइ सेट, पल्स अक्सिमिटर र औषधिहरू पनि वितरण गरिएको बताएका छन् ।
मगरको टोलीले ओख्रेनी, सुब्जागाउँ र घैयाखेतमा स्वास्थ्य सामग्रीहरू वितरण गर्ने कार्यक्रम रहेको छ ।
तरुण नेता मगरसँगै अरुण भण्डारी, हेबिन्द्र खड्का, सुरज अदै मगर, दीपक भण्डारी, मदन भण्डारी, भरत पुन, शिव भण्डारी, प्रेम भण्डारी, रमेश भण्डारी, चन्द्र भण्डारीलगायतका तरुण र कांग्रेस नेताहरूको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।