काठमाडौँ । काठमाडौं उपत्यकाका जिल्लाहरु(काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक आज पुन: बस्दै छ।
यसअघि हिजो बसेको बैठकले गरेको निर्णयलाई निष्कर्ष दिन बैठक बस्न लागेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
मंगलबार बसेको सीडीओहरुको बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएपनि संक्रमणको जोखिम अझै रहेको भन्दै थप १० दिन लम्ब्याउनेबारे छलफल भएको थियो।
यद्यपि हिजोको छलफलमा खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको काठमाडौँका सीडीओ पराजुलीले बताए । साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ । उक्त निर्णयपश्चात् काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।
यस्तै, अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक सवारी भने नखुल्ने भएको छ । पराजुलीले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए । कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने सीडीओहरुको बुझाइ छ ।
कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।