काठमाडौं । बरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि गंगालाल हृदयरोग अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको छ । थापालाई सुरुमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।
कोरोनाको रिपोर्ट १० दिनअघि नेगेटिभ आए पनि मुटुमा समस्या देखिएकाले भेन्टिलेटरबाट निकालिएको थिएन । अन्ततः मुटुकै समस्याले उनको निधन हुन पुगेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार, एसियाली विकास बैंकको निर्देशक, नेपाल वायुसेवा निगमका अध्यक्षका रुपमा काम गरिसकेका प्राडा थापा पोखराका हुन् ।
थापाको निधनमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका धेरै नेताहरुले दुःख ब्यक्त गरेका छन् । नेता नेपालले लेखेका छन्–मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा.गोविन्द थापाको निधनको खबरले स्तब्ध वनायो । तपाईको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं ।