काठमाडौं । वातावरण प्रदूषित गर्ने प्लाष्टिकका झोलाहरु उत्पादन र बिक्री बितरणमा सरकारले प्रतिबन्ध लगाउने भएको छ । २०७८ साउन १ देखि लागू हुनेगरी प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्रीबितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
सपिङमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै ब्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने ब्यवस्था गरिएको वातावरण विभागका महानिर्देशक मुकुन्द निरौलाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्टपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानीबराबरको रकम पूँजीगत अनुदान उपलब्ध गराइने ब्यवस्था आर्थिक बर्ष २०७८–०७९ को आयब्ययको सार्वजनिक जानकारी वक्तब्यमा उल्लेख गरिएको विभागले जनाएको छ । २०७८–०७९ को बजेट वक्तब्य(आयब्ययको सार्वजनिक जानकारी)मा उल्लेख भएबमोजिम गर्न गराउन सबै प्रकारका उत्पादक, बितरक, बिक्रेता एवं सर्वसासाधारणलाई वातावरण विभागले अनुरोध गरेको छ ।
