काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप दिन लागेको दोस्रो पटकको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो काठमाडौँ आइपुग्दै छ । चीनको राजधानी बेइजिङबाट ८ लाख खोप आउने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ भने बाँकी २ लाख मध्ये एक लाख पनि आजै तातोपानी नाकामार्फत् आउने बताइएको छ।
कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको विमान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपुर्याउनेछ ।
गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो।
यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।