काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रवन्धका डिआइजी पुरूषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले गुमराहमा पार्दैआएका छन् । प्रहरीको प्रबन्ध निर्देशनालयले गुणस्तर फेल भएका सामान बुझाउने आपूर्तिकर्ताको बैंक ग्यारेन्टी जफत गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउनुपर्छ । तर प्रबन्धका डीआइजी कँडेल र एसपी बस्नेतले आपूर्तिकर्तासँग सेटिङ गरी बैंक ग्यारेन्टी जफत नगरी कालोसूचीमा राख्न सिफारिस नै नगरेको तथ्य फेलापरेको समाचार सार्वजनिक भयो । समाचार सार्वजनिक भएसँगै आइजीपी शैलेश थापा क्षेत्रीले चासो देखाएपछि डीआइजी कँडेलले ठेकेदार जीएमबीडी कम्पनीका राजमान मिश्रको बैंक ग्यारेन्टी जफत गरेका छन् । तर अझै कालोसूचीमा राख्न अनुगमन कार्यालयमा सिफारिस पठाइएको छैन ।
डिआइजी कडेलसंग नजिक रहेका ठेकेदार मिश्रलाई कारवाहीबाट जोगाउनका लागि उनले बुझाएको ट्युनिक कपडा फेल भए पनि सामान फिर्ता दिइएको कुरा सार्वजनिक भइसेको छ । मिश्रको कम्पनी सेनाको कालोसूचीमा परेर फुकुवा भएको १० दिनमै नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले उनलाई ऊलन कपडा र ट्युनिक पोशाकको कपडाको बोलपत्रमा भाग लिन दिएको थियो । उनको कम्पनी कालोसूचीबाट फुकुवा भएपछि मात्र टेण्डर खोली उनलाई सहभागी गराइएको आरोप डीआइजी कँडेलमाथि लागेको थियो ।
ठेकेदार मिश्रले दुई हजार मिटर ट्युनिक कपडा (भीभीआईपीको सवारीमा मोटरसाइकल चालकले लगाउने सेतो पोशाक) को ठेक्का पाएका थिए । तर उक्त कपडा नेपाल गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा गुणस्तर फेल भएको थियो । गुणस्तर फेल भएपछि ठेक्का पाउने कम्पनीको बैंक ग्यारेन्टी जफत गरी कारवाहीका लागि खरिद अनुगमन कार्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उल्टो ठेकेदारलाई नै सामान फिर्ता गरिएको थियो । समाचार सार्वजनिक भएपछि मिश्रको बैंक ग्यारेन्टी जफत भएको छ । तर कालोसूचीमा राख्न पठाइएको छैन ।