काठमाडौं । सामान्य अवस्थामा १० महिनादेखि १ बर्षसम्ममा नेपाल प्रहरीले जिल्लाका प्रमुखहरुको सरुवा गर्दैआएको छ । तर कोरोना महामारीमा १६ महिनासम्म पनि केही प्रहरी प्रमुखको सरुवा भएको छैन । ३ जिल्लाका एसपी १६ महिनासम्म पनि सरुवा भएका छैनन् । कोरोना कहरमा धेरै एसपीहरु सरुवा नहुने र हेडक्वाटरमै बसी परिवारसँगै रमाइरहेका छन् भने केहीलाई भने जिल्लामा महामारी नियन्त्रणको चटारो छ । कोरोनामा जिल्ला छाड्न नमल्निे भएकाले घरपरिवारसँग पनि महिनौंसम्म भेट नहुने अवस्था छ ।
सुनसरीका एसपी कमल थापा, नवलपरासी पश्चिमका अजय केसी र कैलालीका अनुपमशमशेर राणाको १६ महिनासम्म सरुवा भएको छैन । यी तीन जिल्लाका एसपीबाहेक बाँकेका एसपी ओमबहादुर रानाको सरुवा भएको पनि १४ महिना बितिसकेको छ ।
कोरोना कहरमा जिल्लामा काम गर्न गाह्रो भएकाले अधिकांश प्रहरी अधिकृत काठमाडौंमै बस्न रुचाउने गर्दछन् । सामान्य अवस्थामा सरुवा हुन लुछाचुँछी हुने गरे पनि कोरोनामा जिल्लामा जान नपरे हुन्थ्यो भन्ने मानसिकता अधिकांश डीएसपी र एसपीमा छ । तीनै जिल्लाका एसपीले सरुवा गरिदिनका लागि पटक पटक भनसुन गरे पनि आइजीपी शैलेश थापा क्षेत्रीले उनीहरुको पुकारा नसुनेको स्रोतले बताएको छ ।