Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोनाको नक्कली औषधि बिक्री गर्ने ३५० जनाको गिरोह प्रहरीको फन्दामा


    सोमबार, जेष्ठ १७ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ।

    ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको हो। 

    सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो।

    हाल भारत कोभिडको घातक दोस्रो लहर नियन्त्रण गर्न सङ्घर्षरत छ। बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएको र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ।

    भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ। हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ।

    कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ। अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन्।

    भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार