काठमाडौँ। चीन सरकारले दोस्रोपटक अनुदानमा दिने घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।
बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन वार्ताका क्रममा चिनियाँ समकक्षी सी जिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख चिनियाँ खोप अनुदानमा दिने घोषणा गरेका थिए।
सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार नेपाल ल्याउनेछ भने बाँकी दुई लाख मात्रा नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले युनानको कुन्मिङबाट ल्याउने भएको छ ।
चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने अहिले नेपालमा उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।