काठमाडौँ । संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताबारे इजलासमा प्रश्न उठेपछि सबै न्यायाधीशहरु सर्वोच्च अदालतमा छलफलमा बसे पनि यसबारे आइतबार कुनै निर्णय हुन सकेन ।
संसद् विघटनसम्बन्धी मुद्दाहरुमा बिहीबारदेखि सुरु भएको संवैधानिक इजलासमा तीन दिनसम्म पनि न्यायाधीशद्वय केसी र श्रेष्ठको विवादास्पद उपस्थितिबारे बहसकर्ताहरुले प्रश्न उठाउँदै आइरहेका छन्।
यसबारे आइतबारको इजलास सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा न्यायाधीशद्वय केसी र श्रेष्ठले नै छलफल गरेर यो विषय टुंग्याउने भन्दै उठेका थिए।
यद्यपि इजलासपछि सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासका पाँच न्यायाधीशहरुको बैठकले यसको निर्क्यौल गर्न सकेन।
आज यसबारे छिनोफानो हुने र मंगलबारदेखि संसद विघटनसम्बन्धी रिटहरुमाथि नियमित सुनुवाइ हुने सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए।