काठमाडाैं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको विपक्षी ५ दलको बैठकले सरकारलाई चेतावनी दिएको हाे ।
बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति निकाल्दै वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भन्दै चेतावनी दिएका छन् ।
सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई उनीहरूले आग्रह पनि गरेका छन्।
उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने पनि विश्वास लिएका छन्।
संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तामा उनीहरूले आह्वानसमेत गरेका छन् ।
