एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले फराकिलो हारको सामना गर्नुपरेको छ।
फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग शनिबार राति खेलेको खेलमा इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।
इराकको घरेलु मैदान बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले समान एक एक गोल गरे ।
नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गर्दै उपहार स्वरुप दिएका थिए।
अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छन् ।
समूह ‘बी’ मा रहेको नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।