Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिपक्षी प्रतिक्रिया : ‘निर्वाचनमा राजनीतिक नारा बेच्ने बजेट आयो’


    आइतबार, जेष्ठ १६ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने तरिकाले आएको प्रतिक्रिया दिएको छ। 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलले प्रस्तुत गरेको बजेटले राजस्वको लक्ष्य पूरा गर्न सक्ने विश्वासिलो आधार नभएको कांग्रेसको प्रतिक्रिया छ। 

    प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत जारी बजेटलाई  प्रतिपक्षले कार्यान्वयनमा निकै चुनौती रहेको प्रतिक्रिया विपक्षीको छ। प्रतिपक्ष दलले तलब, भत्ता र विदेशी ऋण तिर्ने र बहुवर्षीय योजनालाई निरन्तरताबाहेक अन्य कार्यक्रम नसमेट्न तथा पूर्ण बजेट नल्याउन सुझाव दिएका थिए। सुझाव विपरित पूर्ण बजेट आएपछि कांग्रेसले आलोचना गरेको हो।

    कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकार निर्वाचन गर्ने योजनामा रहेकाले आफ्नो पार्टीलाई चुनावमा मत बटुल्न सहयोग पुगोस् भन्ने उद्देश्यले लोकप्रिय नारासहितको बजेट आएको बताए। 

    ‘यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित छैन’, डा. रिजालले भने, ‘यसले कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय  दिने देखिन्न।’

    नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए। कर र राजस्वका दर लगाउन र घटाउन यो सरकारले नपाउने भन्दै उनले बजेटको  आलोचना गरे। 

    ‘नियमित सेवा र  काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न’, उनले भने, ‘यो सरकारबाट संविधान विपरीत काम भएको छ।’ 

    गैरजिम्मेवार ढंगबाट बजेट आएको पुनको आरोप छ।‘हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको देखिन्छ’, उनले भने, ‘आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको छ।’

    नेपाल राष्ट्र बैंका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आफूहरुले पूर्वकल्पना गरेजस्तै सबै मानिसलाई  रिझाउने बजेट आएको प्रतिक्रिया दिए। ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ’, उनले भने। सरकारले बजेटमा कोरोना महामारी रोकथाम र उपचारलाई प्राथमिकता दिएको छ।  आजको अन्नपुर्ण दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार