काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरीका खरिदमा पारदर्शीता अपनाउन लागेका छन् । तर उनलाई समेत गुमराहमा पारी प्रवन्धका डिआइजी पुरूषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले निर्णय गर्ने गरेका छन् । प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयले भर्खरै गरेका दुई निर्णयले पुष्टि गरेका छन् ।
डिआइजी कडेलसँग नजिक रहेका ठेकेदार राजमान मिश्रलाई कारवाहीबाट जोगाउनका लागि उनले बुझाएको ट्युनिक कपडा फेल भए पनि सामान फिर्ता दिइएको छ । जबकि यसै आर्थिक बर्षमा भएको अर्को टेण्डरमा भने सामान फेल हुनेबित्तिकै यिनै डिआइजी कँडेलले उक्त कम्पनीको बैंक ग्यारेन्टी जफत गरी कालो सूचीमा हाल्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए । त्यसै अनुरूप उक्त कार्यालयले पूजा ट्रेडिङ नामक कम्पनीलाई कालोसूचीमा हालेको छ । पूजा ट्रेडिङले यसै आर्थिक बर्षमा एक लाख साठी हजार मिटर कटन कपडाको ठेक्का पाएको थियो । एउटै आर्थिक बर्षमा भएको ठेक्का प्रक्रियामा कुनै ठेकेदारलाई काखा र कुनै ठेकेदारलाई पाखा गर्नु त्यसमाथि कानुन बिपरीत , त्यसको पछाडि रकमको ठूलो चलखेल छ भन्ने कुरा स्वतह प्रष्ट हुन्छ । डिआइजी कडेलले अहिले आइजीपी शैलेश थापा क्षेत्रीको सोझो पनको फाइदा व्यापक उठाइरहेको आरोप छ ।
ठेकेदार राजमान मिश्रले पाएको दुई हजार मिटर ट्युनिक कपडा (भीभीआईपीको सवारीमा मोटरसाइकल चालकले लगाउने सेतो पोशाक) को गुणस्तर फेल भएको थियो । उनले बुझाएको कपडा नेपाल गुणस्तर तथा नापतौल बिभागमा टेष्ट गर्न पठाएकोमा फेल भएको थियो । गुणस्तर फेल भएपछि ठेक्का पाउने कम्पनीको बैंक ग्यारेन्टी जफत गरी कारवाहीका लागि खरिद अनुगमन कार्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उल्टो ठेकेदारलाई नै सामान फिर्ता गरी जोगाउने काम भएको छ । यो काममा भण्डारका डिएसपी गोविन्द पुरीको समेत संलग्नता रहेको कुरा बाहिर आएको छ । ठेकेदार मिश्रसँग डिआइजी कँडेल, एसपी बस्नेत र भण्डारका डिएसपी पुरीको धेरै नजिकको सम्बन्ध रहेको छ । फेल भएको कपडामा केही राम्रो गुणस्तरको राखेर पुनः टेण्डर हुँदा गुणस्तरमा समेत सेटिङ गरी बुझाउने चाँजोपाँजो ठेकेदार मिश्रले मिलाएका छन् ।