बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औँ बुद्ध जयन्ती कोरोना महामारी अन्त्यको कामना गर्दै मनाईँदैछ। तर, महामारीका कारण बुद्ध जन्मस्थलमा कुनै औपचारिक कार्यक्रम भने हुने छैनन्।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झना, बिरामीहरुको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै २५६५ वटा दीप प्रज्ज्वलन गरेर मनाउने लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए।
बुद्धजयन्तीको दिन बुधबार बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र बेलुका कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झना, बिरामीहरुको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यले बताए।
रुपन्देहीमा वैशाख १६ गतेदेखि लकडाउन भएयता नै लुम्बिनी बन्द छ।
सुनसानका बीच सीमित उपस्थितिमा बुद्ध पूर्णिमा मनाउनुपर्ने बाध्यता आएको शाक्यले बताए ।
बुद्ध धर्ममा वैशाख पूर्णिमाको महत्व धेरै रहेको छ। सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख पूर्णिमा हो।
आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो। बुद्ध जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै “हिद बुधे जाते शाक्यमुनिति” अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख सहितको स्तम्भ खडा गरेका थिए। जुन स्तम्भ नै बुद्ध लुम्बिनीमा जन्मिएको सबैभन्दा ठूलो र महत्वपूर्ण प्रमाण हो ।