काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ।
निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज उपत्यकाका तीन जिल्लाका जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको छ ।
यसअघि प्रशासनको उच्च स्रोतका अनुसार जेठ महिनाभर निषेधाज्ञा लागू गर्ने तयारी गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुबीच भएको अनौपचारिक छलफलले कम्तीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने निश्कर्ष निकालेसँगै यो महिनाभर लम्बिने भएको उच्च स्रोतको भनाइ छ।
कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गतेसम्म थपिएको थियो ।
वैशाख ३० गते दुई साताका लागि निषेधाज्ञा थप भएको थियो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।
गृह मन्त्रालयका अनुसार हाल ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ।
दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।