काठमाडाैं । कोरोना माहामारीमा सहयोगका लागि अमेरिकाबाट पठाएका थुप्रै सामग्रीहरु भारतले नयाँ दिल्लीमै रोकेर राखिदिएको छ ।
नेपाली मुलका अमेरिकीहरुले विपत्मा परेको आफ्नो मातृभूमि नेपालका लागि भनेर पठाएको ११० थान अक्सिजन कन्सन्ट्रेटर र ५०० भन्दा बढी संख्याको अक्सिजनको मात्रा नाप्ने अक्सिमिटर भारतले नेपाल लैजान रोकिदिएको छ।
समाचारस्राेत अनुसार यी सामग्रीहरु विगत एकसाताभन्दा बढी समयदेखि दिल्लीमा अड्किएर बसेका छन्। सेवा इन्टरनेशनलमार्फत पठाइएका ती सामाग्रीहरु दिल्लीमै अड्किएपछि अमेरिकास्थित नेपाली राजदूतावासबाट दिल्लीस्थित नेपाली दूतावासमा ती सामानहरु सकेसम्म चाडो नेपाल पठाउने पहलका लागि आग्रह गरिसकिएको अमेरिकास्थित दूतावासमा कार्यरत इकोनोमिक काउन्सिल होमकान्त भण्डारीले नेपाली संघ संस्थाहरुलाई जानकारी दिएका छन्।
नेप्लिज एसोसिएसन अफ ह्यस्टन टेक्सास, अमेरिकाका विष्णु नेपालले मे २३ का दिन साँझ अमेरिकास्थित नेपाली दूतावासद्वारा आयोजित एक भर्चुअल छलफलमा ती सामग्रीहरु नेपाल पठाउन तत्काल पहलका लागि अग्रह गरेका थिए।
अमेरिकाबाट सिधै नेपालको उडान गर्न मुस्किल परेको, चार्टर्ड उडान महंगो पर्ने भएकोले सेवा इन्टरनेशनलमार्फत दिल्ली हुँदै पठाइएको तथा दिल्लीबाट नेपालको उडान हप्तामा दुईवटाका दरले भइरहेको सन्दर्भमा आफूहरुले पठाएका राहत सामग्रीहरु छिटै नेपाल पुग्छन् भन्ने ठानेर पठाएको भए पनि भारतले रोकिदिँदा अमेरिकाबासी नेपालीहरुको मन खिन्न भएको छ।
स्राेतका अनुसार दिल्लीमा अड्किएको भनिएका सामग्रीहरु नेपाल पठाउन दूतावासले पहल गरिहेको जानकारी पनि दिएका थिए ।