Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार्टड उडानमा लुट जारी, यूरोप र अमेरिकाको उडानमा पनि तीन गुणा भाडा असुली


    बिहिबार, जेष्ठ ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । देश कोरोना महामारीसँग जुधिरहेको छ । तर यो महामारीमा पनि चार्टड फ्लाइटका नाममा पर्यटन मन्त्रालयका सचिवदेखि मन्त्री र केही ट्राभल्स संचालकहरु कमाउधन्दामा तल्लीन छन् । 
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालय सबैतिर सेटिङ मिलाएर केही ट्राभल एजेन्सीले चार्टड फ्लाइटको नाममा तीन गुणा महंंगो भाडा असुली गरिरहेका छन् ।

    तीन गुणा बढी भाडा असुली गरी मंगलबारमात्रै हिमालयन एयरलाइन्सले साउदीअरबको दमामका लागि ३ वटा उडान गरेको छ भने नेपाल वायुसेवा निगमले २ वटा उडान गरेको छ । हिमालयनका ३ वटै उडान दमामका लागि थिए । निगमको एउटा दमाम र अर्को रियादमा थियो । भारतीय नागरिकका लागि साउदीअरब जाने अनुमति लिएर नेपालीसँग पनि प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म अुसुली गरी साउदीअरबका लागि लगिएको छ । बोन ट्राभल्सका रमेश पौडेल र सम्राट टुर एण्ड ट्राभल्सका सीएन पाण्डेले दमामका लागि हिमालयन र निगमको विमान चार्टड गरेका थिए । जसमा पर्यटन मन्त्रालयबाट अनुमति लिने क्रममा प्रतियात्रु ५० हजार रुपैयाँका दरले घुस बुझाएको स्रोतले बताएको छ । दमामको चार्टड फ्लाइटमा भएको ब्रम्हलुट बारेमा यसअघि नेपालफेसले उजागर गरिसकेको छ ।  

    त्यसैगरी, पर्यटन मन्त्रालयले कतार, यूरोप र अमेरिकाका लागि पनि चार्टड उडानको अनुमति दिइसकेको छ । प्रेसिडेन्ट ट्राभल्सका भोला थापाले कतार एयरलाइन्सका विमान चार्टडका लागि अनुमति लिएका छन् । टर्किस एयरले मेघावाइट ट्राभलका चित्र गुरुङ र सी लिंक ट्राभल्सका राजु ढकाललाई एक्लौटी रुपमा विमान चार्टड गरी मनपरी भाडा असुली गर्न छुट दिएको छ । नेपालमा कोरोना महामारीले भयाबह रुप लिएकाले यूरोप, अमेरिका जान चाहनेहरुको संख्या ठूलो छ । उनीहरु जति महंगो भाडा तिरेर पनि जान तयार भएकाले पनि यी टाभल्सहरुले कतार एयरलाइन्स र टर्किस एयरलाइन्सका म्यानेजरलाई प्रभावमा पारी विमान चार्टडको एकाधिकार लिएका छन् ।

     कतार एयरलाइन्सका सेल्स मेनेजर सरिक बोगटीलाई प्रभावमा पारी प्रेसिडेन्ट ट्राभल्सका भोला थापाले चार्टडको एकाधिकार पाएका छन् । उक्त एयरलाइन्सका सेल्स मेनेजर बोगटीलाई थापाले पैसा खुवाएर विमान चार्टडको एकाधिकार पाएको स्रोतले बताएको छ । कतार एयरलाइन्सका विमान चार्टड गरी भोला थापाले काठमाडौं–दोहा, काठमाडौं यूरोप, काठमाडौं अमेरिका उडान गर्दैछन् ।

    त्यसैगरी, टर्किस एयरका सेल्स म्यानेजर बेनर्जीलाई प्रभावमा पारी मेघावाइट ट्राभल्सका संचालक चित्र गुरुङ र सि लिंक ट्राभल्सका राजु ढकालले चार्टड गर्न सफल भएका छन् । टर्किस एयरले पनि मेघावाइट र सिंलिंकलाई चार्टडको एकाधिकार दिएको छ । यी दुई ट्राभल्सले यूरोपका विभिन्न देशमा उडान गर्नेगरी एकाधिकार पाएका छन् । पर्यटन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म सेटिङ मिलाएर चार्टर्ड फ्लाइटको अनुमति लिने कार्य राजु ढकालले गरेको समाचार स्रोतले नेपालफेसलाई बताएको छ ।

    कतार एयरलाइन्स र टर्किस एयरलाइन्सको विमान चार्टड गर्ने एकाधिकार पाएका प्रेसिडेन्ट, मेघावाइट र सिलिंक ट्राभल्सले नियमित उडानको भन्दा तीन गुणासम्म भाडा असुली गरिरहेका छन् । पर्यटन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म सेटिङ गरी मनपरी भाडा असुली गर्ने छुट ट्राभल्सका संचालकहरुले पाएका छन् । स्रोतका अनुसार प्रतियात्रु २५ हजारदेखि ५० हजारसम्म घुसमा खर्च गरी प्रतिफलइट ४० लाख घुसमा सेटिङ गरिएको छ ।

    पर्यटन मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी चार्टड फ्लाइटको नाममा भएको लुटमा मतियार भएको कुराको खण्डन गरेको छ । चार्टड फ्लाइटमा बढी भाडा लिएको उजुरी गर्न भनिएको छ । तर बल्लबल्ल बढी भाडा तिरेरै भए पनि रोजगारीमा जान पाएका यात्रुहरुले यो कोरोना महामारीमा कहाँ उजुरी गर्ने ? मन्त्रालयले नै चार्टड उडानमा एकतर्फी मात्र यात्रु पाउने भएकाले भाडादर तय गरी त्यो भन्दा बढी लिन नपाउने ब्यवस्था नगरी विज्ञप्ति निकालेर सेटिङ ढाकछोप गर्न खोजेको छ ।

    ‘पर्यटन मन्त्रालयले चार्टड उडानको अनुमति दिदा किन एयरलाइन्सहरुबीच प्रतिस्पर्धा गराएर सस्तोमा नेपालीलाई उडाउने ब्यवस्था गर्न सके पारदर्शीता कायम भइहाल्छ, अनियमितताको गुन्जाइस नै रहँदैन । तर पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले अपारदर्शी रुपमा केही ट्राभल्सलाई मात्र चार्टड अनुमति दिनुले पनि कमिसनको खेल सहजै बुझ्न सकिन्छ ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट(नाट्टा)का एक पदाधिकारीको भने–‘पर्यटन मन्त्री भानुभक्त ढकाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमाथि पनि अनियमितताको हिस्सा नपुगेको भए  पारदर्शीता कायम गर्न कसले रोक्यो, ती माफियाको नाम सार्वजनिक गर्ने हिम्मत उहाँहरुसँग छ ?

    विमान चार्टडको अनुमति परराष्ट्र मन्त्रालय हुँदै पर्यटन मन्त्रालयका सचिवले दिने ब्यवस्था छ । पर्यटन मन्त्रालयका सचिव यादव कोइराला हुन् । उनीसँग प्रतिस्पर्धा नगराई केही ट्राभल्स एजेन्सीसँग सेटिङ गरी एक्लौटी रुपमा पर्यटन मन्त्रालयले साउदीअरबको दमाममा भारतीयहरुको लागि मात्र उडान अनुमति दिएको बताउँदैआएको छ । तर भारतीयको बहानामा नेपाली यात्रु पनि साउदीमा गएका छन् । भारतीयसँग पनि तीन गुणा बढी भाडा असुलिएकोबारेमा दूताबासले नेपाल सरकारसँग आपत्ति जनाइसकेको छ । भारतीय दूताबासको आपत्तिले पनि चार्टड फ्लाइटमा अनियमितता भएको कुरालाई पुष्टि गरेको छ । पर्यटन मन्त्रालयले चार्टड फ्लाइटमा अनियमितता नभएको दाबीलाई भारतीय दूताबासको विज्ञप्तिले झुटो सावित गरिदिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार