विराटनगर । उपचार गर्न ढिलो गरेको भन्दै विराटनगरको विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।
आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको स्राेतले बताएकाे छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो ।