Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्री ओली भन्छन् – रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, जनतालाई बुझाउनुपर्छ


    आइतबार, जेष्ठ २ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी  नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् ।

    शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए ।
     
    ‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ, ओलीले भने, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।’
     
    प्रधानमन्त्री ओलीले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । ‘जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
     
    अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे। कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले  समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए ।
      
    संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेतर्फ सरकार सचेत रहेको जनाउँदै ओलीले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । 
     
    कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै प्रधानमन्त्री ओलीले  नागरिकको उपचार सरकारले गर्ने बताए । ‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, ओलीले भने, ‘समस्या भए समस्या छन् पो भन्नुपर्यो, कोल्याप्स भयो त भन्नुभएन नि ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार