काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूकाे मृत्यु हुने संख्या उकालो लाग्ने क्रम अझै राेकिएकाे छैन ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले लकडाउन समेत लागू गरेको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको तथ्यांकमा देखिन्छ।
पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ ।
देशका अधिकांश जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि संक्रमित हुने क्रम रोकिएको छैन ।