वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ ।
नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालमा रौतहटका ५५ वर्षीय पुरुष, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
रौतहटको सिर्सियाका ५५ वर्षीय पुरुषको बिहान पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
बाराका ४५ वर्षीय संक्रमित पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा मात्रै ६२ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३९ जना पर्साका छन् । बारा, रौतहट र सर्लाहीका २२ जना छन् भने एक जना भारतीय नागरिकको कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएको छ ।