काठमाडौं । पत्रकार दिनेश दाहालको ४० बर्षको उमेरमा निधन भएको छ । सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको शनिबार निधन भएको हो । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि बैशाख १० मा उनलाई सुमेरु अस्पताल धापाखेलमा भर्ना गरिएको थियो । कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिनअघि उनको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर निमोनिया ठीक नभएपछि उनको निधन हुन पुगेको छ ।
जनप्रहार साप्ताहिकको सम्पादक रहेका दाहाल पछिल्लो समयमा सिटिजन पोष्ट डटकमका सम्पादक थिए । काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् ।
नेपाल पत्रकार महासंघका अनुसार देशभरका पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महासंघका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आइसियूमा उपचार भइरहेको छ । हालसम्म कोरोनाबाट सातजना पत्रकारको ज्यान गएको महासंघले जनाएको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ ।
यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत भएर काम गर्न महासंघले अपिल गरेको थियो ।