बीरगंज । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहर तीब्ररुपमा बढिरहेका पर्सामा निषेधाज्ञा घोषणा गरिएको छ । भारतसँग जोडिएका सबै सीमानाका बन्द गरिएको छ । तर जनताको जीउज्यानसँग खेलवाड गर्दै घुसको मोहमा परी महामारीको वास्ता नै नगरी पकाहाँ मैनपुरबाट निर्वाध तस्करी हुँदैआएको छ ।
सरकारले निषेधाज्ञा र सीमा बन्द गरे पनि सशस्त्र प्रहरी बलको पकाहाँ मैनपुर बीओपीका इन्चार्ज अमृत केसीले तस्करलाई खुल्लमखुल्ला सामान ओसारपसार गर्न छुट दिएका छन् । निषेधाज्ञाका बीचमा भारतबाट विभिन्न खालका कपडा, सूर्तिजन्य पदार्थ, खाद्यान्न सामग्रीहरु, हाडवेयर, मेशिनरी पाट्र्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस् र भैंसी भारतबाट तस्करी हुने क्रम झन बढेको छ ।
भारतबाट ल्याएको तस्करीको समान पर्साको पकाहाँ, पोखरिया बजार, बहुअर्वा, बिन्दबासनी, महूवन, बहुवरी चौक जस्ता ठाउँहरुमा पुग्ने गरेको छ । बीओपीको संरक्षणमा नेपालबाट भारततर्फ डिजेल, पेट्रोल, मदिराको तस्करी भइरहेको छ । सीमा नाका बन्द गरिसकेपछि सशस्त्र प्रहरीकै मिलेमतोमा पकहा मैनपुर नाकाबाट दैनिक लाखौं मूल्य बराबरको सामग्रीको तस्करी भइरहेको छ ।

निषेधाज्ञाका बीचमा राति राति नेपाालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ
निषेधाज्ञामा पकाहाँ मैनपुरबाट भएको तस्करीको विषयमा नेपाल फेसकर्मीले भिडियो नै पठाएका छन् । जनता महामारीमा घरभित्रै बसिरहेको बेला सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी खुलेआम भएको छ । त्यहाँका स्थानीय तस्करहरुले बीओपीका इन्चार्ज केसीलाई दस्तुरी बुझाइ तस्करी गर्ने गरेका छन् । छिमेकी मुलुक भारतमा प्रतिदिन कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । पर्सा पनि कोरोना महामारीबाट अछुतो छैन । पर्सा र भारत पनि कोरोनाको हटस्पट बन्दै गएका कारणले नेपाल र भारतको सीमानाकामा पूर्णरुपले आवतजावतसम्म बन्द हुनेगरी बोर्डर सिल गर्न निर्देशन दिए पनि त्यो आदेशलाई लत्याउँदै पकाहा मैनपुर बीओपी इन्चार्ज केसीले धोरे नाका हुँदै तस्करीलाई निर्वाध छुट दिएका छन् ।
तस्करीको यो सिलसिला नरोकिए पर्साका हरेक ठाउँका घरघरमा कोरोना संक्रमण फैलिने खतरा देखिएको छ । पकाहाँ मैनपुरका स्थानीयबासीका अनुसार डिजेल र पेट्रोल साइकल र मोटरसाइकलमा लोड गरी ठूलो संख्यामा नेपालवाट भारततर्फ दिनहुँ सशस्त्र प्रहरीकै सहयोगले तस्करी हुने गरेको छ । नेपाल फेसकर्मीले पेट्रोलियम पदार्थ तस्करी भइरहेका भिडियो र तस्वीर समेत खिचेका छन् । स्वयम त्यहाँका स्थानीयहरुले नै सामाजिक संजालमा पेट्रोलिम पदार्थ तस्करी भइरहेको तस्वीरसमेत राखेका छन् । माथिल्लो निकायलाई पनि बुझाउनुपर्छ भन्दै सशस्त्रको १३ नं गणका गणपति राजेन्द्र खड्काको नाममा समेत मासिक ठूलो रकम तस्करहरुबाट बीओपी इन्चार्ज अमृत केसीले उठार निर्वाध रुपमा लाइन चलाएका छन् ।

झोलोपोेकेका नाममा सशस्त्रको बीओपीका हाकिमको संरक्षणमा भइरहेको तस्करी
१३ नं गणका गणपति राजेन्द्र खड्कालाई यहाँबाट भैरहेको तस्करीको विषयमा राम्रो जानकारी छ तर उनी थाहा नपाए झै गरिरहेका छन् । यो विषयमा खड्कासँग बुझ्दा तस्करी भएको छ भने भिडियो र फोटो छ भने पठाउनू, त्यसबारेमा हामी बुझ्छु भन्ने जवाफ दिए । उनले दिएको व्हाट्सएप्प नंबरमा स्थानीयले बिहीबार नै तस्करी भइरहेको भिडिओ र फोटोहरु पठाएका थिए । भिडियो र फोटोसहित पठाउँदा पनि एसपीले अनुगमन समेत गरेका छैनन् । पकाहाँ मैनपुर बीओपी इन्चार्ज अमृत केसीसँग निषेधाज्ञामा सीमानाका बन्द छ, तस्करी भइरहेको छ भन्ने जिज्ञासा राख्दा उनले तस्करी भएको कुरो स्वीकारे तर सानोतिनो र जीविकोपार्जन गर्ने झोलेपोकेहरुले गरेको भनी ढाकछोप गरेका छन् । केसीका अनुसार सानातिना तस्करलाई रोक्दा स्थानीय जनप्रतिनिधिहरुको दबाब आउँछ । त्यही भएर नसमातिएको हो । उनले कोरोना फैलिन नदिन सीमानाका रोकिएको भए पनि सानातिना भन्दै तस्करीलाई छुट दिएका छन् ।
केसीले सानोतिनो जीविकोपार्जन गर्नेलाई नरोक्नुस् भनेर कुरो आएपछि सामान लान ल्याउन दिएको बताए । यो विषयमा पकाहाँ मैनपुर गाउँपालिका वडा नः ३ बोडर नाकामा पर्ने धोरेका वडाध्यक्ष अमिका सहनीसँग बुझ्दा आफूहरुबाट कुनै अवैध कार्य तस्करी जस्ता क्रियाकलापमा कुनै पहल नगरेको बताए । मुलुकका सीमानाकाबाट हुने गरेको तस्करी बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरीभित्र रहेका यस्ता छविका प्रहरीले गर्दा नै संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाँडो बनाउने गरिएको छ ।