Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा फेरि आक्रामक रूपमा बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन झन्डै ४ हजारको मृत्यु


    बिहिबार, बैशाख २३ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा एक-दुई दिन ओह्रालो लागेजस्तो देखिएको कोरोनाभाइरसको संक्रमणले बुधबार नयाँ रेकर्ड बनाएको छ।

    बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो। त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो।

    अघिलो साताभन्दा कम परीक्षण गर्दा पनि यति धेरै संक्रमित भेटिनु चिन्ताको विषय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

    अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो भने मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गरिएको थियो।

    संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार ३ हजार ९ सय ८० जना संक्रमितले ज्यान गुमाएका छन्।  उत्तर प्रदेश, कर्नाटका, हरियाणा, पञ्जाब, तमिलनाडु र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ।

    भारतका भाइरोलोजिस्टहरूले मेको अन्त्यतिरबाट संक्रमण घट्न सक्ने बताएका छन्। भाइरोलोजिस्ट गगनदीप कांगले बुधबार विभिन्न मोडलले मध्य मेदेखि जुन पहिलो सातासम्म संक्रमण ओह्रालो लाग्न थाल्ने देखाएको बताएकी हुन्। 

    यसैबीच भारत सरकारका सल्लाहकार एक जना वैज्ञानिकले भारतमा कोरोनाभाइरसको तेस्रो लहर अवश्याम्भावी भएको बताएका छन्। वैज्ञानिक के विजय राघवनले तेस्रो लहर कहिले आउँछ ठ्याक्कै भन्न नसकिने भने पनि नयाँ भेरियन्टसहित तेस्रो लहर आउने भएकाले त्यसका लागि तयार भएर बस्नु पर्ने बताएका हुन्। 

    भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको छ। पहिलो लहरमा संक्रमितको दैनिक संख्या एक लाख पार गरेको थिएन। अहिले दैनिक चार लाख संक्रमित थपिएका छन्। विज्ञहरूले  यो संख्या दैनिक पाँच लाखसम्म पुग्न सक्ने अनुमान गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार