Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता जोगाइदिन ओलीको आग्रह, देउवाले भने– सहयोग गर्न सक्दैनौं


    बुधबार, बैशाख २२ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग वार्ता गरी पार्टी एकतालाई अक्षुण्ण राखेर जनता समावजवादीको सहयोग लिएर विश्वासको मत लिनुपर्ने दायित्वबाट बिमुख भएका प्रधानमन्त्री केपी ओली सत्ता बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् । प्रतिनिधिसभा बिघटनपछि तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव नेपाललाई किस्तीमा प्रधामन्त्री पद सुम्पन बुढानीलकन्ठ पुगेको भनी घोचपेच गरी भाषण गर्ने ओली आज आफैं उनको शरणमा पुगेका छन् ।

    सत्ता बचाउनका लागि बुढानीलकन्ठ गएका उनलाई सभापति देउवाले सहयोग गर्न नसकिने जवाफ दिएर फर्काइदिएका छन् । आफ्नै पार्टीका नेताहरुसँग इगो र दम्भका कारण सहमति गर्न नसक्ने ओलीलाई विश्वासको मत लिनु फलामको च्यूरा चपाएसरह भएको छ ।
    प्रधानमन्त्री ओलीले नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङ लिएर देउवा निवास पुगेका थिए ।

    बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए । महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्यौं ।’

    प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’

    कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा। शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार