Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको लडाईमा भारतका अरबपति निःशुल्क अक्सिजन बाँड्दै, नेपालका उद्योेगपति बम्हलुट मच्चाउँदै


    बुधबार, बैशाख २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । भारतका अरबपति ब्यापारी मुकेश अम्बानीले कोरोना भाइरसबिरुद्धको लडाईमा निःशुल्क अक्सिजन बितरणमा जुटेका छन् । रिलायन्स इन्ष्डष्ट्रिजका मालिक मुकेशले आफ्नो तेल रिफाइनरीबाट अक्सिजन सिलिण्डर उपलब्ध गराउन थालेका छन् । अम्बानीको रिलायन्स इन्ष्डष्ट्रिज भारतको निजी क्षेत्रकै सबैभन्दा ठूलो कम्पनी हो । गुजरातको जामनगरमा रहेको उक्त कम्पनीले कोरोना भाइरस संक्रमणको दर उच्च रहेको मुम्बईमा निःशुल्क अक्सिजन आपूर्ति गरिरहेको छ । अम्बानीले महाराष्ट्रमा १ सय टन अक्सिजन गएको हप्तामात्रै निःशुल्क प्रदान गर्ने घोषणा गतहप्ता गरेका छन् ।

    गतबर्षको कोरोना भाइरस संक्रमणको पहिलो लहरमा भारतीय उद्योगपतिहरुले मन फुकाएर सहयोग गरेका थिए । सरकारलाई कोरोनाबिरुद्ध लड्न भारतीय उद्योगपतिहरु एकपछि अर्को लाम लागेका छन् । तर नेपालका उद्योगपति कोरोना भाइरस महामारीमा पनि लुट्न उद्यत छन् । फोब्र्स पत्रिकामा नेपालको अरबपतिको सूचीमा आफ्नो नाम लेखाउने तर कर छल्न मात्रै खोज्ने विनोद चौधरी महामारीमा कहाँ छन् ? उनी र उनको परिवारको लगानी भएको नर्भिक अस्पतालले २ पटक कोरोना परीक्षण गरेको ४२ हजार लिने गरेको नागरिक टाइम्सका सम्पादक डण्ड गुरुङले सामाजिक संजालमै सार्वजनिक गरेका छन् ।

    नेपालका अरबपति चौधरीले कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा नागरिकहरु दैनिक उपचार नपाएर मृत्युबरण गरिरहँदा पनि रत्तिभर सहयोग गरेका छैनन् । गतबर्ष चीनबाट चार्टड गरी ल्याएको स्वास्थ्य सामग्रीबाट एकाध सय पीपीई स्वास्थ्य मन्त्रालयलाई दिएर उनी आफ्नो दायित्वबाट पन्छिएका थिए । यो बर्ष उपचार नपाएर नेपाली मरिरहँदा पनि नेपालका अरबपति बेपत्ता छन् ।

    सरकारसँग हातेमालो गर्न कोही तयार देखिएका छैनन् । उद्योग बाणिज्य महासंघका अध्यक्ष दिवाकर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, राजेन्द्र खेतान, उपेन्द्र महतो जस्ता ब्यापारीहरु कोरोना बिरुद्धको लडाईमा कतै पनि देखिएका छैनन् । चन्द्र ढकालले त कोरोना महामारीपछि अटोमोवाइल उद्योगबाट सर्यौं कामदार निकालेर अमानवीयताको दृष्टान्त नै पेश गरिसकेका छन् । गतबर्ष कोरोना महामारीको पहिलो लहरको लपेटामा मुलुक परेको बेला ढकालको स्वामित्वको आईएमई मोटर्स प्रालिले २०७७ जेठ १ गतेबाट ५ सय कर्मचारीलाई बिदा दिएको थियो । आईएमई मोटर्स अशोक लेल्यान्डको आधिकारिक बिक्रेता कम्पनी हो ।

    नेपालका अरबपतिले खोलेका अस्पतालहरु नर्भिक, मेडिसिटी, काठमाडौं मेडिकल शिक्षण अस्पताल, ह्याम्स काठमाडौं र नोबेल मेडिकल अस्पताल बिराटनगर जस्ता अस्पतालहरु कोरोना महामारीमा सहुलियत दरमा उपचार गर्ने दायित्वबाट बिमुख भएर एक रातको ५० हजार असुल्नै ब्यस्त छन् । काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता सरकारसँग गरेर ५ हजार लिने गरेको बेडको शुल्क ३० हजार पुर्याएको छ ।

    जनता अक्सिजन र उपचार नपाएर मृत्युको मुखमा पुग्दा पनि ठेक्कामा सेटिङ गरी अकूत कमाउने र अमेरिकामा घर बनाउने विक्रम पाण्डे, मोहन आचार्य, रमेश शर्मा, ऋषि सुवेदी, अच्यूत खरेल, जयराम लामिछाने, जीपछिरिङ लामाजस्ता ठेकेदार पनि गुमनाम भएर बसेका छन् ।   
    प्रधानमन्त्री केपी ओलीले राखेका आर्थिक सल्लाहकार मोति दुगड तस्कर र नक्कली भ्याटबिल प्रयोग जस्तो राष्ट्रिय अपराध गर्नेहरुलाई अदालतबाट मुद्दा जिताउन बीचौलियाको काम गर्न तल्लीन छन् ।

    सरकारले बैशाख १६ पछि निषेधाज्ञा घोषणा गरेपछि उनी प्रधानमन्त्री कार्यालयबाट सवारी पास बितरण गर्न तल्लीन छन् । उनले दररेट तोकेर पैसा लिंदै आफ्नो सहयोगी भन्दै पास बितरण गरी कोरोनामा सडकमा ब्यापारीलाई गाडी कुदाउने मौका दिएका छन् । जसका कारण निषेधाज्ञामा पनि सडकमा सवारीको ताँती लाग्ने गरेको छ । विजय लोहियालाई सल्लाहकार दुगडले दिएको पासको कपी नेपालफेसलाई पनि प्राप्त भएको छ । यसैगरी प्रधानमन्त्री कार्यालयबाटै सहयोगी भन्दै पैसा लिएर दुगडले सवारी पास बिक्री गरेको आरोप छ । दुगडले लोहियालाई जस्तै आफ्नो सहयोगी भन्दै धेरै तस्कर ब्यापारीलाई पनि प्रधानमन्त्री कार्यालयबाट पास बितरण गरेको आरोप छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार