काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।
काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले केही कडाइ गर्ने गरी वैशाख २९ गते राति १२ बजेसम्मका लागि उक्त आदेश थप गरिएको जानकारी दिएका छन् । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीदबिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएकामा अब थपिएका समयमा भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ । यसपालिको निषेधाज्ञाको कार्यान्वयन तह फितलो भएको गुनासो बढिरहेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी आज जारी आदेशानुसार फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार-व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ । यसअघि यस्ता पसल निर्बाध रुपमा सञ्चालन भएको थियो । आदेशमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिशका आधारमा गन्तव्यस्थलमा जान दिने भनिएको छ ।
सूचना विभागको पास नभएका पत्रकारको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएर मात्रै काममा खटिने व्यवस्था गरिएको छ ।
यस्तै, सभासम्मेलन आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन वैशाख २९ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको पोका, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।
अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायत कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । सरकारी कार्यालयका हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखद्वारा जारी गरिएको पास र परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । सार्वजनिक संस्थाका हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ । बैँक तथा वित्तीय संस्थाका हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ ।
बैँक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ ।
अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी र प्रवेशाज्ञा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । यीबाहेकका अन्य अत्यावश्यक काम )अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेको हक) मा सवारी साधन प्रयोग गर्नुपर्ने भएमा सीडीओबाट अनुमति पास लिनुपर्ने जनाइएको छ ।
औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।
साथै,फुटपाथ तथा खुला ठाउँमा तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय एवं कवाडी सङ्कलनमा भने रोक लगाइएको छ । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने आदेशमा भनिएको छ । यसअघि जारी भएका सबै पास भने खारेज गरिएको छ ।