काठमाडौं । नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्तिका लागि ३ जनाको नाम छनोट समितिले सिफारिस गरेको छ । निगमको सीईओका लागि सिफारिस हुनेहरुमा पंकजकुमार दास, अच्यूतराज पहाडी र रामेश्वर भट्टराई छन् । छनोट समितिले सिफारिस गरेकामध्येबाट मन्त्रिपरिषदले एकजनालाई नियुक्ति गर्ने छ ।
सिफारिस भएका मध्ये अच्यूतराज पहाडी केही महिनाअघि मात्र नेपाल वायुसेवा निगमको संचालक समिति सदस्य थिए । वायुसेवा निगममै ३० बर्ष जागिरे पहाडी विमानस्थलमा कार्यरत हुँदा विमानका पार्टपूर्जा समेत बिक्री गर्न बाँकी नराख्ने हाकिमका रुपमा बदनाम भएका थिए । तर उनले २०७४ मा शेरबहादुर देउवालाई प्रभावमा पारी वायुसेवा निगमको बोर्ड सदस्य भएका थिए । वाइडबडीको ६ अर्ब भ्रष्टाचारमा पनि उनी मुछिएका थिए ।
संसदको सार्वजनिक लेखासमितिको सदस्य हुँदा वाइडबडी विमान खरिदको भ्रष्टाचार छानबिन गर्ने मुख्य भूमिका भएका प्रेम आले नै वन तथा वातावरण मन्त्री भएकाले पहाडीको नियुक्तिको संभावना कम छ । तर, बालुवाटारमा सिधै पहुँच पुर्याएर ब्रिफकेस बुझाई नियुक्ति हुने दाउमा पहाडी छन् ।
सिफारिसमा परेका पंकजकुमार दास वनस्पति विभागबाट अवकाश पाएका अधिकृत हुन् ।
दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड (टीसीएन) र वन पैदावार विकास समिति गाभेर नेपाल वन निगम लिमिटेड गठन भएयता कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन । सरकारले २ बर्षअघि २०७६ जेठ २३ गते वन पैदावर विकास समिति र टिम्बर कर्पोरेसन गाभेर वन निगम गठन गरेको थियो ।