बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् ।
उनले आज फेसबुक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ ।’
उनले संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेका अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव नभएको तर अहिलेको अवस्था त्यो नभएको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले गत फागुन २३ को फैसलापछि विमलाकुमारी खत्री एमालेको प्रदेशसभा सदस्यका रुपमा सहभागी हुँदै आएको जानकारी दिँदै उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको बताएका छन् । ‘मुख्यमन्त्रीको नियुक्तिपछि शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित हो ’ उनले भनेका छन् ।