काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन दोब्बर संख्याले बढिरहेको छ । आइतबारमात्रै काठमाडौं उपत्यकामा ३५ सय कोरोना संक्रमित थपिए ।
सरकारले काठमाडौं उपत्यकाका अस्पतालहरु सबै कोरोना संक्रमितले भरिइसकेकाले उपचार गर्न नसकिने भन्दै हात उठाएको छ ।
नागरिकको उपचार गर्ने दायित्वबाट हात उठाएको सरकारले ५२० शैयाको वीर अस्पतालको नयाँ भवन सञ्चालन गर्न भने उदासिनता देखाउँदै आएको छ । वीर अस्पतालको मूल भवन अगाडि अत्याधुनिक क्षमताको ५२० शैयाको अस्पताल निर्माण भइसकेको छ । २०७७ फागुन ५ गते नै उक्त अस्पताल सरकारलाई हस्तान्तरण गर्न ठेकेदार शर्मा एण्ड कम्पनी तयार थियो । वीर अस्पतालका एक चिकित्सको प्रश्न छ– ‘४० प्रतिशत काम बाँकी रहेको धरहरा र महान्यायाधिवक्ताको कार्यालय उद्घाटन गर्न हतार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स्वास्थ्यसँग जोडिएको र कोरोना महामारीका कारण उपचार नपाएर संक्रमित मुत्युबरण गर्ने अवस्था उत्पन्न हुँदा पनि उक्त अस्पताल सञ्चालन गर्न चासो दिएका छैनन् ?’
मनिटरसहित २ सय बेड राख्नका लागि १ अर्ब बजेट छुट्याए पुग्छ । सरकारले अन्यत्रको बजेट कटौती गरेर भए पनि १ अर्ब तत्काल छुट्याउन सक्छ । प्रतिशैया २ लाख खर्च गरेर कम्तीमा २ सय शैया वीर अस्पतालको नयाँ भवनमा राख्नेतिर सरकारको ध्यान जानुपर्छ, ती चिकित्सक भन्छन्–धरहरा भन्दा त अहिलेको महामारीमा अस्पताल संचालन महत्वपूर्ण हो नि ?
संविधानसभा सदस्य रामकृष्ण चित्रकार कोरोना महामारीका बेला अस्पतालमा बेड नपाएर बिरामीहरु मृत्युवरण गर्नुपरेको र तयार भएको अस्पताल सञ्चालन गर्न पनि ओली सरकारले चासो नदिएको बताउँछन् । ‘धरहरा उद्घाटन र राष्ट्रिय सभाको चुनाव अहिलेको आवश्यकता होइन, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्नु प्रमुख दायित्व हो । तर सरकार यो दायित्वबाट पन्छिएर चुनाव र धरहरा उद्घाटनमा व्यस्त छ । रामसीताको रथयात्रा हजारौं भिडको जम्मा गरी गर्दै आएको छ ।’ चित्रकार भन्छन् । बालुवाटारमै बेतुकका भीड जम्मा गरी कोरोना फैलिन मद्दत पुगेको भनी सरकारको आलोचना भइराखेको छ ।
वीर अस्पतालको नयाँ भवन ३ अर्ब लागतमा बनेको हो । जुन भवनको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बिजुली, पानीलगायतका अत्यावश्यक कुरा पनि व्यवस्थापन भइसकेको छ । अब शैया राखेर कर्मचारी परिचालन गरी अस्पताल सञ्चालन गर्न मात्र बाँकी छ । तर सरकार तयारी हालतको अस्पताल सञ्चालन गर्न चासो देखाइराखेको छैन ।
कोरोना संक्रमित बिरामीहरु अस्पतालको आकस्मिक कक्षमा बेड नपाएर छट्पटाइरहेका छन् । अक्सिजन दिनुपर्ने कोरोनाका बिरामीहरु आईसीयू बेड अभावमा आकस्मिक कक्षमै मृत्युवरण गरिरहेका छन् ।
कोरोना संक्रमित गरिब बिरामीका लागि निजी अस्पताल आकाशको फल जस्तै भएका छन् । सरकारी अस्पतालमा आईसीयू कहीँ खाली छैन । सरकारी अस्पतालका आकस्मिक कक्षमा बेड खाली हुने प्रतिक्षा गर्दागर्दै धेरैले ज्यान गुमाइसकेका छन् । आकस्मिक कक्षमा समेत बिरामी भरिभराउ भएर एम्बुलेन्समै ज्यान गुमाउनुपर्ने दूर्भाग्यपूर्ण अवस्था छ । सरकारले बेड छैन, थप बेडको व्यवस्था गर्न सकिंदैन भन्दै विज्ञप्ति जारी गरेर पन्छिने कि तयार भएको अस्पताल सञ्चालन गर्न तदारुकताकासाथ लाग्ने हो ? यो प्रश्न वीर अस्पतालका कर्मचारीहरुले गर्दै आएका छन् ।
यो विषम परिस्थितिमा नागरिकको जिउज्यान जोगाउनु सरकारको प्रथम दायित्व हो । बालुवाटारमा बसेर दूरदराजका सडक शिलन्यास गर्ने अहिलेको आवश्यकता होइन । अहिलेको आवश्यकता कोरोना संक्रमितको लागि जतिसक्दो अक्सिजनसहितको आईसीयूको व्यवस्थापन गर्ने हो । प्रधानमन्त्री ओली यो दायित्वबाट पन्छिएर अम्बाको पात खानुस्, बेसार खानुृस् भन्दै हल्काफुल्का टिप्पणी गरी निरो जस्तै प्रस्तुत भइरहेका छन् । अहिले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने भन्दा पनि जनताको जिउज्यान जोगाउनु मुख्य दायित्व हो भन्ने बोध सरकारको नेतृत्वमा नहुँदा कोरोना महामारीले अस्पतालमा उपचार नपाएर धेरैको ज्यान जाने सम्भावना सन्निकट देखिन्छ ।